तुलनात्मक रूपमा महिलाको शरीर संवेदनशील हुन्छ । सन्तानोत्पादनको विशेष जिम्मेवारी महिलालाई नै हुन्छ । यस अर्थमा महिलाका केही शारीरिक अंगहरूको संवेदनशीलतालाई स्वास्थ्यजगत्मा ध्यानपूर्वक हेरिन्छ । जनचेतनाको कमीका कारण नेपालमा महिलास्वास्थ्यमा निकै समस्या देखिन्छ । समाजमा खुलेर स्वास्थ्यसम्बन्धी समस्या राख्न नसक्ने स्थितिले गर्दा महिलाका कतिपय रोग जटिलतातिर बढिरहेका छन् ।
महिलाका जटिल रोगहरूमध्ये पर्छन्, स्तन क्यान्सर र पाठेघर क्यान्सर । नेपालमा पछिल्लो समयमा यी समस्याबाट पीडित महिलाको ग्राफ उच्च देखिन्छ । सामान्यतया शरीरका कोषहरू मरेपछि तिनीहरूलाई नयाँ प्रकारका कोषले प्रतिस्थापन गर्छन् । क्यान्सर भएसँगै शरीरका सामान्य कोषहरूमा अनियन्त्रित तवरले वृद्धि हुन्छ । स्वस्थ कोष तथा तन्तुहरूलाई ती कोषले आक्रमण गर्छन् । महिलामा हुने पाठेघर तथा स्तन क्यान्सरमा पनि त्यही प्रक्रियाले समस्या उत्पन्न गरिरहेको हुन्छ ।
पाठेघर क्यान्सर भन्नाले महिलाको पाठेघरको मुखमा हुने क्यान्सरलाई बुझ्नुपर्छ । महिलालाई लाग्ने विभिन्न क्यान्सर छन् । पहिलो क्रममै आउँछ, पाठेघर क्यान्सर । भाइरसको संक्रमण यो क्यान्सरको मुख्य कारक हो । यो तत्काल थाहा हुँदैन, क्यान्सरले च्याप्दै लगेपछि महिलाको होस खुल्छ । क्यान्सरको अन्तिम अवस्थामा पुगेपछि मात्र महिलाले थाहा पाइरहेका हुन्छन् । तर त्यतिखेरको अवस्थामा उपचार सजिलै सम्भव हुँदैन । सुरुकै स्थितिमा उपचार गराएमा निको हुन सक्छ ।
पाठेघरमा क्यान्सरजन्य संक्रमण हुनुका केही निश्चित कारण छन् । खासगरी ३५ वर्ष उमेर नाघेका प्रौढ महिलामा यस्ता खाले समस्या देखिएको पाइन्छ । सानै उमेरदेखि नै यौनसम्पर्क राखेका र धेरैजना सँग यौन सम्पर्क राखेका महिलामा पनि पाठेघर क्यान्सर हुने खतरा हुन्छ । बारम्बार यौनरोगबाट संक्रमित हुने तथा एचआइभी र एड्स भएका महिलामा पनि यसको जोखिम हुन सक्छ । धूमपान तथा सूर्तिसेवन गर्ने प्राय: महिलाहरूमा यस्तो क्यान्सर लागेको तथ्यांक छ ।
योनिबाट असामान्य रक्तस्राव भइरहनु, यौनसम्पर्कपछि पनि रक्तस्राव हुनु पाठेघर क्यान्सरका लक्षण हुन् । यस्तो अवस्थामा असामान्य, दुर्गन्धित स्राव वा सेतो पानी बग्ने पनि गर्दछ । लक्षण देखिनासाथ चिकित्सककोमा पुगेर परिक्षण गराइहाल्न पर्दछ । यौन क्रियाकलापमा सक्रिय महिलाले कम्तिमा दुई वर्षमा एक पटक यो जाँच गराउन उपयुक्त हुन्छ ।
स्तन क्यान्सरका कारण ज्यान गुमाउने महिलाहरूको संख्या पनि ठूलो छ । यो पनि विस्तारै बढ्दै जाने क्यान्सर हो । सुरुको अवस्थामा पत्ता लगाएर उपचार गरिएमा निको हुन्छ । रोग गम्भीर भएपछि भने उपचार पाउन मुस्किल छ । खास गरी ५० वर्षको उमेर नाघेका महिलाहरूमा यस्तो खाले समस्या बढी देखिएको पाइन्छ । स्तनको एकापट्टी मात्र दुख्ने, स्तनमा कडा र चोसो परेको वरीपरि नसर्ने खालको गाँठो आउनु यसको लक्षण हो । यसबाहेक स्तनमा हलुका रातो वा निको नहुने घाउ पनि आउन सक्छ । स्तन क्यान्सर भएका बेलामा स्तनको छाला भित्रतिर धस्सिने गर्छ भने मुन्टोबाट असामान्य स्राव हुन्छ । यदाकदा पाखुरा मुनि बेस्सरी दुख्छ । स्तन क्यान्सर भएको/नभएको थाहा पाउन यदाकदा परीक्षण गर्नु नै बुद्धिमानी हुन्छ । महिनाबारी भएको सातौं या आठौं दिनमा यसको परिक्षण उपयुक्त मानिन्छ ।